१६ चैत, काठमाडौं । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै विरोध गरेका छन् ।
आज एक विज्ञप्ति जारी गरी ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको र त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रने चेतावनी दिएका हुन् । शुक्रबार बिहान ११ बजेदेखि काठमाडौँको तीनकुनेमा गरिएको आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट घुसपैठ गराइएको पनि उनले दाबी गरेका छन् । अनपेक्षित प्रहरी दमनका कारण आफ्नो सभा बिथोलिएको तर्क उनले विज्ञप्तिमा गरेका छन्।
यस्तै दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, रवीन्द्र मिश्र, धवल शमशेर राणा र स्वागत नेपाललाई पक्राउ गर्ने र आफूलाई घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको पनि दाबी गरेका छन ।