१६ चैत, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् ।
राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई कडा कदम चाल्न सुझाव दिए ।
‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो’ उनले भने, ‘अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’
सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने प्रचण्डले बताए । ‘राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गरोस् । आउने दिनको लागि पूर्ण तयारीमा लागोस् ‘, उनले भने ।