१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडे जात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा आज टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।