|  

शान्तिपूर्ण ढंगले आमसभा गर्ने भनेर राजावादीले यस्तो उग्र रुप लिएः रघुजी पन्त

१७ चैत, काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले शान्तिपूर्ण ढंगले आमसभा गर्ने भनेर राजावादीले उग्र रुप लिएको बताएका छन् ।

संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । चैत १५ गते तीनकुनेमा भएको घटनाबारे गम्भिरतापूर्वक छलफल गर्न आग्रह गर्दै उनले संविधानमाथि आक्रमण भएको बताए । उनले संविधानलाई उल्ट्याउने कोशिस भएको समेत बताए । 

सोही क्रममा उनले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको जिकिर गरे । उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिवद्ध छ । यो संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र संविधानलाई विकसित रुप दिन लागिपरिरहेको छ ।’

साथै उनले प्रतिपक्षहरुका कारण संसद बैठकमा अवरोध आइरहेको बताए । उनले चैत १५ गतेको दिन काठमाडौंमा भएको घटनाबारे देशलाई जानकारी दिन संसद मार्फत गृहमन्त्रीले जानकारी दिन पाउनुपर्ने माग गरे ।