|  

मन्त्रालयले एलर्ट गराउँदा पनि संवेदनशील क्षेत्रमा गाडी लगेको भन्दै दुई कर्मचारी निलम्बित

१७ चैत, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखतीलाई स्पष्टीकरण सोधेको छ ।

यही चैत १५ गते दुवै कार्यालयका सरकारी गाडी राजावादीको आन्दोलनमा प्रदर्शनकारीले जलाइदिएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो । सामाजिक सुरक्षा कोषको बीएए ६७२४ र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए । गाडी जलेपछि मन्त्रालयले कार्यालय प्रमुखहरूलाई स्पष्टीकरण सोध्नुका साथै चालक तथा तोकिएको व्यक्ति (गाडी चढ्ने)सहित कर्मचारीलाई निलम्बन गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार चैत १६ गते शनिबारदेखि नै लागू हुने गरी निलम्बन तथा स्पष्टीकरण सोधेर आज जानकारी गराइएको हो । ‘चैत १३ गते मन्त्रालयले मातहतका सबै कार्यालय प्रमुखहरूलाई राखेर आन्दोलन हुनुअघि नै सिनियर म्यानेजमेन्ट टीमको बैठकमा सरकारी गाडीमाथि जुनसुकै बेला आक्रमण हुनसक्छ भनेर सरकारी गाडी संरक्षण गर्न भनिएको थियो । कर्मचारीले आफ्नो ज्यान तथा सरकारी गाडीसहित सरकारी सम्पत्ति सुरक्षा गर्नका लागि त्यस बैठकमा एलर्ट गराइएको थियो ।’

देशभरका मन्त्रालयमातहतका कार्यालय प्रमुखहरूलाई एलर्ट रहन जानकारी गराइएको भएपनि आन्दोलन भइरहेको अवस्थामा संवेदनशील क्षेत्रमा गाडी लगेको पाइएपछि मन्त्रालयले कारबाही अघि बढाएको भनिएको छ । त्यसबाहेक उक्त घटनाका विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको छ । सरकारी गाडी आगजनी गर्नेलाई कारबाही गर्न समेत गृह मन्त्रालयमा पत्राचार गरिएको छ ।