१७ चैत, काठमाडाैं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।
प्रसाईले झुटा, भ्रामक र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टीकाराम भुसालले काठमाडौंको साइबर ब्यूरोमा उजुरी दिएका हुन् । प्रसाईंले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झुटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन् । भुसालले भनेका छन्, ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्णरूपमा झूटा, भ्रामक र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन् । यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पूर्णरूपमा कानुनविपरीत र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिको विवाह दर्ता गरिदिनु भनि सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमानरअवहेलना समेत हो ।’
उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न मागसमेत राखेका छन् ।