|  

प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाह निरंकुश राजा बन्न चाहेको काँग्रेसकाे निष्कर्ष

१७ चैत, काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् ।

आज संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाह निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताए । “पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार गर्‍यो,” उनले भने, “जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो, त्यसबाट उनको लक्ष्य भनेको निरंकुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ ।”

राजावादी समूहको प्रदर्शनक्रममा उनीहरूलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको डा. महतले टिप्पणी गरे । उनले राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको जिकिर गरे । निजी सम्पत्तिमा क्षति पुर्‍याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने उनले उल्लेख गरे । “मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो । जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पत्तिमा क्षति पुर्‍याएका छन् र जसले उत्तेजना फैलाएको छ, तिनीहरूलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला,” उनले भने ।

लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको उनले बताए । लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ छ।