|  

गणतन्त्रवादीको हाइट कति छ, राजावादीको निचता कति छ भन्ने कुरा दुनियाँले देख्योः प्रचण्ड

१८ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आपराधिक ‘भिलेन’को रूपमा चित्रण गरेका छन् । आइतबार हिजो सिन्धुली जिल्लाको दुधौली नगरपालिका पुगेर प्रचण्डले राजावादीले शुक्रबार गरेको वितण्डा ज्ञानेन्द्रकै निर्देशनमा भएको आरोप लगाए ।

जनता र राजनीतिक दलको उदारताको नाजायज फाइदा उठाएर फेरि आतङ्क मच्चाएको भन्दै प्रचण्डले अब ज्ञानेन्द्रलाई छाडा छोड्न नसकिने बताए । कार्यक्रममा आफूलाई नायकका रूपमा प्रस्तुत गरेका उनले ज्ञानेन्द्रलाई ‘भिलेन’को रूपमा चित्रण गरे ।

‘मैले त त्यतिबेलै भनेको थिएँ– मण्डले गुण्डाहरू कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तो अहिले पनि उस्ताको उस्तै छन् भन्ने कुरा प्रमाणित भयो । सिङ्गो राष्ट्रले देख्यो । गणतन्त्रवादीको हाइट कति छ, राजावादीको निचता कति छ भन्ने कुरा दुनियाँले देख्यो । मैले पहिले पनि भन्ने गरेको थिएँ–उपन्यास, कथा, नाटक या फिलिममा हामी सधैँ एकातिर हिरोहरूको जमात देख्छौँ । अर्कोतिर आपराधिक गिरोहहरूको जमात देख्छौँ । १५ गते त्यस्तै भयो ।’उनले भने । 

हाम्रो गणतान्त्रिक सभा हिरोहरूको जनताको सभा भयो । राजावादीहरूको सभा भिलेनहरूको अपराधीहरू आततायीको सभा भयो । जनताले बुझ्ने गरी भयो, हामीले केही भन्ने परेन ।