१८ चैत्र, काठमाडौं । नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् ।
हिजो बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकमा उनले यस्तो सुझाव दिएका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा आफ्नै राज चल्दै आएझैं जुन किसिमको हरकत गरिरहेका छन्, त्यसैको निरन्तरता स्वरूप शुक्रबार तीनकुनेमा हिंसात्मक घटना भएको उनले बताए।
‘ज्ञानेन्द्रकै उक्साहट, निर्देशन र योजनामा चैत १५ को आपराधिक घटना भएको हो,’ भट्टराईले भने, ‘उनको गतिविधिले सीमा नाघिसक्यो। अब उनलाई क्षमा दिन सकिँदैन। दलहरूले सहमति बनाएर संवैधानिक, कानुनी कारबाही अघि बढाउनुपर्छ।’
संविधानसभाले राजतन्त्र उन्मूलन गरेको हो। दलहरूले उदारता देखाएर ज्ञानेन्द्र शाहलाई विभिन्न गतिविधि गर्न दिएका हुन् ।
उनले आफूलाई राजाकै हैसियतमा प्रस्तुत गर्दै वक्तव्य दिँदा पनि हामीले रोकेनौं,’उनले अगाडि भने, ‘म पनि पूर्वप्रधानमन्त्री हुँ। तर मैले वर्तमान प्रधानमन्त्रीको हैसियतमा गतिविधि गर्न थालेँ भने कानुनले मलाई कारबाही गर्छ। त्यसैले ज्ञानेन्द्र शाहले जे गरिरहेका छन्, त्यसमा उनलाई बयान लिएर आवश्यक कारबाही गरिनुपर्छ।’