१८ चैत, काठमाडाैं । हराएको चार दिनपछि गाडिएको अवस्थामा माकलबारीमा एक युवकको शव भेटिएको छ ।
हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका-१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका-६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन । उनीहरुले सर्लाहीको चक्रघट्टा-८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो ।
खोजतलासको क्रममा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चैतमा फेला परेको थियो । लेनदेनको विषयमा विवाद हुँदा उनीहरुले राहुलको हत्या गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।