|  

समाजवादी मोर्चाको बैठक सम्पन्नः तीनकुने घटनाको समीक्षा

१८ चैत, काठमाडौं । समाजवादी मोर्चाको बैठक तीन निर्णय गरेर सकिएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन् । बैठकमा १५ चैतको घटनाको समीक्षा गरेको विश्वकर्माले जानकारी दिए । गणतन्त्रवादीहरूको सभामा रहेको जनउपस्थिति र व्यवस्थापनका हिसाबले सानदार र भव्य रहेको र यसले गणतन्त्रवादीहरूलाई उत्साह र प्रेरणा भरेको निष्कर्ष बैठकले निकालेको नेता विश्वकर्माले जानकारी दिए । समाजवादी मोर्चाको प्रदर्शनले गणतन्त्रको रक्षाको निम्ति सशक्त भूमिका निर्वाह गरेको उनले बताए ।

मोर्चाले राजावादीको हिंसात्मक गतिविधिलाई योजनाबद्ध र विदेशीहरूको सहयोगमा घटाइएको निष्कर्ष निकालेको नेता विश्वकर्माले जानकारी दिए । सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र उक्त घटनाको मूल्यांकन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको मोर्चाले निष्कर्ष निकालेको छ । समाजवादी मोर्चाले यस्ता गतिविधिको सशक्त भण्डाफोर र प्रतिवाद गर्न दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने निर्णय गरेको नेता विश्वकर्माले जानकारी दिए ।

नेता विश्वकर्माले मोर्चाको बैठकले क्रान्तिका उपलब्धि रक्षा गर्न युवालाई संगठित रूपमा परिचालन गर्ने निर्णय गरेको पनि जानकारी दिए । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी थिए ।