|  

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा मन्त्री भट्टराईकाे जाेड

१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताए । उनले सबैले आशा र प्रतिक्षा गरेको विधेयक भएकाले पनि सबैले समन्वय गरेर छिटो टुंग्याउुनपर्ने बताए । उनले ३५ दिनको कार्य योजना बनाएर उपसमितिले काम शुरु गरेकोमा खुशी प्रकट गरे ।

उनले भने,‘यो विधेयक असाध्यै पेचिलो छ र सबैले आशा गरेको, कहिले आउँछ भनेर सबै प्रतिक्षारत भएको विधेयक रहेको हुँदा हामीले ३५ दिनको कार्य योजना बनाएर काम शुरु गरेका छौँ । जे विषय सहज छन्, त्यसलाई यो यो दफामा छलफल गरेका छौँ भनेर सन्देश दिन पनि जरुरी छ । जे विषयमा संवाद आवश्यक हुन्छन्, विषय शुरु गर्ने र संवादका लागि कहाँ कहाँबाट सहजीकरण हुन्छ, त्यसको लागि मैले मन्त्रालयको हिसावले गर्नुपर्ने हिसावमा सहजीकरण गर्न तयार छु ।’

मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयसँगको सहकार्य गरेर समन्वयका साथ अघि बढ्नुपर्ने बताए ।