१८ चैत्र, काठमाडौं । काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर फरार भएका दुर्गा प्रसाईं भारत पुगेको खुलेको छ । एक उच्च प्रहरी अधिकारीले प्रसाईं भारत पुगेको बताएका छन् ।
चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको राजावादीको प्रदर्शन अराजक बनेपछि उनी सम्पर्कविहीन भएका थिए । राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका हुन् । प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो ।
प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएका प्रहरीको भनाइ छ । शुक्रबार रातिनै उनी काठमाडौं छाडेर भारततर्फ लागेको प्रहरी जनाएको छ । प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका थिए ।
त्यहाँ फलफूल खाएर सोही राति उनी ललितपुरको फर्सीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत गएको प्रहरीको दाबी छ ।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको दाबी गरेका छन् ।
उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको प्रहरीले जनाएको छ । प्रसाईं भारत पुगेको सूचनालगत्तै प्रहरीका केही अधिकारीले त्यहाँको सहयोगमा उनलाई पक्राउको आन्तरिक तयारी सुरु गरेका छन् । यता प्रसाईंले भने हिजो मात्रै एक भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको बताएका थिए ।