१८ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले भने, ‘सबिन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो, छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास र माथिबाट गोली हानियो त्यसको जबाफ चाहिन्छ।’
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको मागसहित तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनपछि तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो।
यस घटनामा छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने माग लिङ्देनले राखेका हुन्। तीनकुनेको प्रदर्शनलाई राप्रपाले पनि समर्थन गरेको थियो।