१९ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य दीपक बोहराको पार्थिव शरीरलाई नेपाली सेनाको प्लेनबाट रूपन्देहीको भैरहवास्थित पार्टी कार्यलयमा लैजाने तयारी भइरहेको छ ।
उनको शव आज दिनभर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर साँझ काठमाडौं ल्याइने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र कठायतले जानकारी दिए । शव काठमाडौं ल्याएपछि घर या अस्पतालमै राखेर आफन्तलाई भेट्न दिइने भनिएको छ । यस्तै, बोहराको शव भोलि अपराह्न ४ बजेपछि श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने छ । उनको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
बोहरा पछिल्ला केही वर्षयता घाँटीको समस्या भएपछि बोल्न नसक्ने अवस्थामा थिए । बोहरा नेपालको राजनीतिमा चार दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए ।उनी २०७० सालमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए ।