१९ चैत, काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।
हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् । देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन् । थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए ।
सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन । संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकले सांसदहरुको विदा स्वीकृत गरेको छ ।