|  

तीनकुने घटनाको जिम्मेवारी निर्मल निवासले लिँदैनः पूर्वराजाको सचिवालय

१९ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी निर्मल निवासले नलिने जनाएको छ ।

पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले चैत १५ गतेको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा नभएको भन्दै यस्तो बताएका हुन् । त्यस दिन जसले प्रदर्शनको आयोजना गरेको हो, उही घटनाको जिम्मेवार हुने उनको भनाई छ । उक्त प्रदर्शनको आयोजना नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुनः स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन समिति’ले गरेको थियो । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए ।

रवीन्द्र र धवलशमशेरसहित ४१ जनाविरुद्ध मुद्दासमेत दर्ता गरिसकेको छ भने मंगलबारसम्म थप २० जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । त्यस राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाएका थिए । थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो । तर उक्त हिंसाको अघिल्लो दिन पूर्वराजा शाहले दुर्गा प्रसाईंलाई निर्मल निवासमै बोलाएर निर्देशन दिएको भन्ने आरोपमा भने उनले आफूलाई थाहा नभएको बताए ।

त्यस्तै, त्यस हिंसात्मक आन्दोलनका क्रममा फोहोर तथा तोडफोड गरेको भन्दै काठमाडौं महानगरपालिकाले त्यसको प्रमुख जिम्मेवार पूर्वराजा शाह नै भएको ठहर गर्दै जरिवाना नै तोकेको छ । विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रूपैयाँ जरिवाना ज्ञानेन्द्र शाहको नाममा बालेनले जरिवाना पत्र काटेका थिए । तर उक्त पत्र निर्मल निवासले बुझ्न नमानेपछि हुलाकमार्फत निर्मल निवासलाई पत्र पठाइएको छ । फेरि निर्मल निवास भने यसबारे अहिलेसम्म मौन छ । यस विषयमा संवाद सचिव डा.पाठकले भने, ‘उहाँले जिम्मेवारी लिइबक्सन्न। जुन समितिले कार्यक्रम गरेको छ, जरिवाना उसैसँग लिनपर्‍यो। यत्ति कुरा त मेयरजस्तो मान्छेले नबुझ्या होला जस्तो लाग्दैन।’ उनले यस निर्णयमा बालेनले पुनर्विचार गर्नुपर्ने बताए । संवाद सचिव पाठकले फागुन २५ गतेको कार्यक्रम मात्र पूर्वराजा शाहको भएको जिकिर गरे ।

यता, सरकारले भने उक्त हिंसात्मक प्रदर्शनमा पूर्वराजा शाह जोडिएको, उनले सम्झौता उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।