|  

पत्रकार सुरेशको पोर्टबल एक्स-रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान

१९ चैत, काठमाडौं । तीनकुने प्रर्दशनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स-रे गरिने भएको छ ।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन । गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स-रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकहरुले अडान लिएका हुन् । पुरै शरीरको पोर्टेबल एक्स-रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स-रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ । विभाग एक चिकित्सकले भने, ‘प्रोटोकल अनुसार नै जलेको शरीरको एक्सरे गर्नुपर्ने हुन्छ । जसले मृत्युको कारण पत्ता लगाउन सहयोग गर्छ । हामीसँग भएको एक्सरे मेसिन बिग्रिएकाले समय लागेको हो ।’

यसैगरी रजकको मृत्यु गोली लागेको भएको भन्ने बाहिर हल्ला आएको त्यसले विवाद निम्ताउनेसक्ने भएकाले एक्सरे गर्न लागिएको ती चिकित्सक बताए । गोली लागे/नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुने ती चिकित्सकले बताए । हवाइ दुर्घटनामा परेका मानिसको पनि एक्सरे गरेमात्रै शवको पोस्टमार्टम गर्ने गरिएको छ ।

केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स-रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।