२२ चैत्र, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले जनताको घरमा बिजुली पुर्याउनु नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको बताए । एक जिम्मेवार नागरिकका रूपमा आफ्नो काम, कर्तव्य र अभिभारा कहिल्यै कम नहुने उनले उल्लेख गरे ।
‘आफूलाई बर्खास्त गर्नुलाई उनले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही र अपमानित बनाउने कार्यका रूपमा टिप्पणी गरे । ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवम् अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’उनले भने, ‘तर, नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’