२३ चैत, काठमाडौं । सोलुखुम्बुको लुक्लामा मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएकामध्ये ३ सय ६० पर्यटक सोलु पुगेका छन् ।
बिहीबारदेखि मौसमको खराबीको कारण मन्थलीमा रोकिएका पर्यटकहरू हिजो दिउँसो केहीबेर मौसम खुलेपछि सोलुको फाप्लु र लुक्ला पुगेका छन् । मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका ५ सय भन्दा बढी पर्यटक रामेछापको मन्थली रोकिएका थिए । शुक्रबार मध्यान्ह मन्थलीमा रोकिएको पर्यटकहरूलाई हेलिकप्टर र प्लेनबाट फाप्ला र लुक्ला पठाएको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले जानकारी दिए । शुक्रबार दिउँसो ७ वटा विमान उडान भएकामा १ सय १० जना पर्यटक फाप्ला पुगेका छन् ।
त्यस्तै हेलिकोप्टरको ५० वटा उडान मार्फत २ सय ५० पर्यटक लुक्ला पुगेका छन् । शुक्रबार केहीबेर खुलेको मौसम फेरि खराब हुँदा आज बिहान पनि जहाज उड्न सकेका छैनन । सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरू काठमाडौंबाट रामेछापको मन्थली सम्म गाडीमा आउने गर्दछन भने रामेछापको मन्थली विमान स्थलबाट जहाजमा लुक्ला जाने र आउने गर्दछन । यो विमानस्थलबाट मौसम सफा हुँदा दैनिक ६० वटा भन्दा बढी उडान सोलुको लागि हुने गर्दछ ।