|  

काठमाडौंको वायु निकै अस्वस्थकर, अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

२४ चैत्र,काठमाडौं ।  काठमाडौं उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ ।

आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको  ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।

लामोसमयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको मौसमविद्हरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।२०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।