२४ चैत्र, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालगंजमा बीपी कोइरालाको शालिकमा कालोमोसो र तोडफोड गरिएको घटनाप्रति कडा प्रतिक्रिया दिएका छन् ।
यसलाई जोडेर उनले राप्रपाको नेतृत्वमा चलिरहेको राजसंस्था पुनर्स्थापनाको आन्दोलनप्रति प्रश्न उठाएका छन् ।
उनले आन्दोलनका संयोजक धवल शम्शेरको गृहक्षेत्रबाट आएको सन्देश कांग्रेसभित्र रहेका संवैधानिक राजसंस्थाका हिमायतीहरूका लागि गम्भीर संकेत भएको प्रतिक्रिया दिएका छन् ।
‘राजतन्त्र होइन राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो भन्ने राप्रपाहरूले नेपालगंजमा बीपीको शालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्,’उनले लेखेका छन्, ‘अब आफैं बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ? आन्दोलनका संयोजक धवल शम्शेरको गृहनगरीबाट दिएको सन्देश हो कांग्रेस भित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई ।’
नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ भन्नेहरूलाई जवाफ दिँदै उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्रको शासन व्यहोर्नु परेको भए बीपी पनि गणतन्त्रकै पक्षमा उभिनुहुन्थ्यो ।’शनिबार राति नेपालगञ्जको बीपी चोकमा रहेको बीपीको शालिकमा राजावादी समूहले कालोमोसो दल्नुको साथै कालो कपडाले छोपेका छन् ।