२४ चैत, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् ।
आज पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताए । तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे ।
कोईराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए । पछिल्ला घटनाक्रमहरुप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे । पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ । पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै उनले राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौति दिए ।
अध्यक्ष नेपालले राजाहरुले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गरे । जनताले रोजेको व्यक्ति भन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताउँदै उनले वंशको शासन कहिले पनि राम्रो नहुने तर्क गरे । पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै प्रश्न गरे । राजा र उनका नजिककाहरुले देश लुट्न खोजिरहेको आरोप लगाउँदै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताए ।