२४ चैत्र, काठमाडौं । दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको एक विशेष टोली भारत पुगेको छ । प्रहरीले उनी भारत भागेका पुष्टि भएपछि भारतीय प्रहरीको समन्वयमा प्रहरीको टोली भारत गएको हो ।
यद्यपि भारतमा उनी कहाँ लुकेका छन् भन्नेबारे प्रहरीले विवरण पाएको छैन । प्रहरी स्रोतका अनुसार, प्रसाईं सुरुमा भारतको उत्तर प्रदेश पुगेको सूचनाका आधारमा प्रहरीको टोली उत्तर प्रदेश गएको हो । त्यहाँबाट समेत उनी अन्त भागेको आशंका गरिएको छ ।
केही दिनअघि नै उत्तरप्रदेश पुगेको प्रहरी टोली अझै नेपाल फर्किएको छैन । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीनकुनेबाट ललितपुर भाग्दै गर्दा प्रसाईंले प्रयोग गरेको बाएबी४२०८ नम्बरको स्कार्पियो गाडी भने इटहरीबाट बरामद गरेको छ ।प्रसाईं भारतीय हिन्दू संगठन आरएसएसको सम्पर्कमा पुगेको दाबी सुरक्षा निकायको छ । चैत १५ मा राजावादीले आयोजना गरेको तीनकुनेको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं थिए ।
उनकै कमान्डमा रहेको प्रदर्शन अराजक बनेपछि तीनकुनेको अवस्था तनावपूर्ण बनेको थियो ।प्रहरीले अवस्था नियन्त्रणमा लिन एक सय १० राउण्ड गोली चलाएको थियो । प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । त्यस्तै प्रदर्शनकारीले एक व्यक्तिको घरमा लगाएको आगोमा परी पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।प्रहरीको गोली लागेर २० जना घइते भएका थिए ।