|  

अमेरिकामा आँधीमा परी १६ जनाको मृ#त्यु

२४ चैत्र, काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् ।

टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् ।आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको छ ।

अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट‘पावर आउटेज डट कम’ले जनाएको छ । एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ ।