२४ चैत, काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ ।
आज बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिए । उनले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ति स्थानीय तहका विमित सेवाग्राहीहरुले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए । तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरुमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिए ।
कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नविकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताए । उनका अनुसार वि.स. २०७४/०७५ मा बीमा नविकरण नगर्ने ५४ प्रतिशत, ०७८/७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ । एकचोटी बीमा गरिसकेपछि किन बीमा नविकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताए । दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उनकाे भनाइ छ । यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उनले जानकारी दिए । लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।