|  

माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न शिक्षकहरुलाई प्रचण्डको अपिल !

२४ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न शिक्षकहरूलाई अपिल गरेका छन ।

राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताउँदै यस्तो बताएका हुन । आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै प्रचण्डले भने,‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस । ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौँ ।’ चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्‌को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने बताए । सरकारले हतारिएर सङ्घीय संसद्‌को दुवै सदनको अधिवेशन अन्त्य गरेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले शिक्षकहरूलाई सताउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।