|  

आन्दोलनरत शिक्षकहरूलाई प्रचण्डले भनेः जबसम्म माग पूरा हुँदैन, तबसम्म नछोड्नुस्

२५ चैत्र, काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिएका हुन् । उनले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराए।

‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं। भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,’ प्रचण्डले भने।

यसैबीच प्रचण्डले  माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न शिक्षकहरूलाई  अपिल गरेका छन् । प्रचण्डले आवश्यकता परेमा संसद्‌को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताए।

‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्। कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं।’उनले भने, ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्‍यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं। म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु।’