२५ चैत्र, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको बिजनौरस्थित नजीबावादमा बेहुलाको जुत्ता लुकाउने कुरामा विवाद हुँदा विवाह नै रद्द भएको छ ।
खुर्शीदकी छोरीको विवाह थियो । देहरादुनमा सैलुन सञ्चालन गर्दै आएका मोहम्मद साबिरसँग खुर्शीदकी छोरीको विवाह हुँदै थियो । सोही क्रममा बेहुली पक्षले बेहुलाको जुत्ता लुकाइदिए । जुत्ता फिर्ता दिनका लागि उनीहरूले ५० हजार रुपैयाँ माग गरे । बेहुलाले ५ हजार रुपैयाँ दिने जनाए ।
यही विषयमा बिस्तारै विवाद बढ्न थाल्यो । रमाइलो मानिने यो परम्परा आखिर तनावमा परिणत भयो । बेहुला पक्षका अनुसार बेहुली पक्षले बेहुला र जन्तीमाथि कुटपिट गरे ।
बेहुली पक्षले भने बिहेमा बेहुला पक्षबाट कारको माग गरिएको आरोप लगाएको छ । विवाद बढेपछि प्रहरीलाई खबर गरियो ।त्यसपछि दुवै पक्ष विवाह नै रद्द गर्ने निष्कर्षमा पुगे ।