२५ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता भारत लगायत विश्वका कयौँ व्यापार साझेदारमाथि ट्यारिफ लगाएपछि विश्व शेयर बजारमा पहिरो गइरहेको छ ।
अमेरिकादेखि युरोप र एसियासम्म सबैतिर सेयर बजार रक्ताम्मे भएका छन् । ट्यारिफ घोषणाको प्रभाव भारतीय सेयर बजारमा पनि देखिएको छ ।
सोमबार बिहान बेञ्चमार्क निफ्टीमा चार प्रतिशतभन्दा बढीको कमी देखियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलना निफ्टी ९७६ अंकले घटेर २१ हजार ९२८ दशमलव ५५ अङ्कमा ओर्लिएको थियो ।
अर्को मुख्य सेयर परिसूचक सेन्सेक्स पनि ३ दशमलव ९६ प्रतिशत अर्थात् २ हजार ९८५ अंकले घटी ७२ हजार ३७९ दशमलव ९३ अङ्कमा खुम्चिएको थियो । योसँगै लगानीकर्ताले २०१ खर्ब ६० अर्ब भारु गुमाए ।