|  

मालवाहक सवारी चेकजाँचमा प्रहरीबाट सहयोग मिलेनः मन्त्री दाहाल

२५ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले मापदण्डविपरितका गाडीहरुको कारण यात्रुवाहक सवारी साधनहरुमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए । उनले मालवाहक सवारी साधनहरुको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले मालवाहक गाडिहरुको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने बताए । उनले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताए । प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडिहरु चलाउन दिएको आरोप लगाए । उनले गाडिहरुको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताए । निर्माणाधीन नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । 

स्तरोन्नति भइरहेको नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो । यसप्रति यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन ।