२५ चैत, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसको दायित्वहरु निर्वाह गर्न लागेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित हिमालयन सम्बादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बंगालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गरेको बताए । समुन्द्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट बचाएर विश्वलाई जोगाउन नेपालको हिमालयन क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको बताए । उनले बिना एकता उपलब्धि हासिल हुन नसक्ने भएकाले विविधताका बीचमा एकता हुनुपर्ने बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या आउँदा नेपालीहरु एकजुट हुने गरेको बताउँदै उनले नेपाल शान्तिको पक्षमा भएकाले कसैको सामरिक गठबन्धनमा नलाग्ने प्रष्ट पारे । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय जवाफदेहितासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु नहुने बताए ।