|  

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी

२७ चैत, काठमाडौं । टेक्सासबाट हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) सदस्य अल ग्रीनले राष्ट्रपतिको पदमा बस्न वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ‘योग्य नभएको’ भन्दै आगामी ३० दिनभित्र ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव संसदमा पेस गर्ने बताएका छन् ।

गत हप्ता अमेरिकामा देशव्यापी रूपमा भएको ट्रम्प र इलन मस्क विरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’ लाई सम्बोधन गर्दै ग्रीनले उक्त कुरा गरेका हुन । उक्त प्रदर्शनमा देशभर झन्डै ६ लाख नागरिक प्रदर्शनमा सहभागी भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन । ग्रीनले वासिङ्टन डीसीमा ट्रम्पविरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’लाई सम्बोधन गर्दै भने, ‘हामीलाई अहिले ट्रम्पलाई दोषी ठहर गर्न सक्ने सिनेट चाहिन्छ र म तपाईंहरूलाई मनैबाट भन्न चाहन्छु, उहाँ एक गोलियथ जस्तै हुनुहुन्छ । उहाँसँग सेनाका जनरलहरू, न्याय विभाग र रिपब्लिकन पार्टीको नियन्त्रण छ । तर मेरा साथीहरू, प्रत्येक गोलियथका लागि एक डेभिड हुन्छ ।’

ग्रीनले उल्लेख गरेको गोलियथ बाइबलको एक कथा ‘डेभिड र गोलियथ’ का एक पात्र हुन, जो साह्रै ठूलो, शक्तिशाली र डरलाग्दो योद्धा थिए जसलाई कसैले हराउन नसक्ने ठानिन्थ्यो । तर डेभिड नाम गरेका एक युवा गोठालोले ढुंगा प्रहार गरेर उसलाई हराएका थिए ।

सामान्यतः प्रतिकात्मक रूपमा गोलियथलाई सामना गर्न गाह्रो हुने सत्ता, शक्ति वा अन्यायपूर्ण शक्तिशाली व्यक्ति वा संस्थालाई जनाइन्छ । झन्डै दुई महिना अघि ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने वाचा गरेका ग्रीनले राष्ट्रपति ट्रम्पले आफू बसेको पद ‘ढंगले सम्हाल्न नसकेको’ तर्क गरेका छन् । अमेरिकी संविधानको धारा १, खण्ड २ ले प्रतिनिधिसभालाई महाअभियोगको मुद्दा ल्याउने अधिकार दिएको छ। कुनै पनि प्रतिनिधिसभाका सदस्यले राष्ट्रपति, उपराष्ट्रपति, वा संघीय अधिकारीहरूलाई ‘राजद्रोह, भ्रष्टाचार वा अन्य उच्च अपराध र दुष्कर्महरू’ को लागि महाअभियोग प्रस्ताव ल्याउन सक्छन्।

प्रतिनिधिसभाको बहुमतले महाअभियोग प्रस्ताव पारित गरेपछि, यो सिनेटमा पठाइन्छ। सिनेटलाई महाअभियोगको मुद्दामा सुनुवाइ गर्ने अधिकार छ । राष्ट्रपतिलाई दोषी ठहर गर्न सिनेटको दुई तिहाइ बहुमत चाहिन्छ ।