२७ चैत, काठमाडौं । अमेरिकाले आजदेखि चीनमाथि १०४ प्रतिशत आयात कर लगाउने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको एक दिनपछि ह्वाइट हाउसले चीनमाथि आयात कर १०४ प्रतिशत लगाएको हो । यो अप्रिल ९ तारिख आजैदेखि लागू भएकोसमेत ह्वाइट हाउसले जनाएको छ । योसँगै अब अमेरिका पुग्ने हरेक चिनियाँ सामानको भाउ दोब्बर हुनेछ । ट्रम्पले गत फेब्रुअरीमा चीनमाथि १० प्रतिशत, मार्चमा १० प्रतिशत, अप्रिलको शुरुआतमा ३४ प्रतिशत र बुधबारदेखि ५० प्रतिशत कर लगाएर १०४ प्रतिशत पुर्याएका हुन । अमेरिकाले कर लगाएपछि चीनले पनि ३४ प्रतिशत कर लगाएको थियो । त्यसपछि ट्रम्पले उक्त ३४ प्रतिशत फिर्ता नलिए अझ कर थप्ने बताएका थिए ।
चीनले आफू अमेरिकासँग प्रतिस्पर्धा गर्न तयार रहेको घुर्की लगाएपछि ट्रम्पले थप ५० प्रतिशत कर लगाएर १०४ प्रतिशत पुर्याएका हुन । ट्रम्पले आफूले दिएको चेतावनीको विरुद्धमा कुनै पनि देश गयो भने त्यसको जवाफी कारबाही गर्ने बताएका छन । चीनले आफूहरु व्यापार युद्धका लागि तयार रहेको सन्देश अमेरिकालाई दिएपछि उक्त धम्कीले उत्तेजित ट्रम्पले ५० प्रतिशत थपेर १०४ प्रतिशत पुर्याएका हुन । आइतबारमात्रै चीनले अमेरिकी रबैया स्पष्ट देखिएको भन्दै व्यापार युद्ध भयो भने त्यसका लागि आफू तयार रहेको बताएको हो । ट्रम्पले भने कुनै पनि देशले करको रकममा असन्तुष्टि जनाए उसलाई नछाड्ने बताएका छन् । उनले अहिलेसम्म आफ्नो देशलाई धेरै देशले लुटेको भन्दै अब आफूहरुले लुट्ने बताएका छन । यसको असर विश्वभर परेको छ । युरोपीय कमिशनका अध्यक्ष उर्सुला वान डेर लेयेनले युरोपेली युनियन (ईयू) अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताएका छन् ।
ईयूले अमेरिकी कदमको विश्वभरको अर्थव्यवस्थामा असर पर्ने भन्दै यसतर्फ सजग हुन आग्रहसमेत गरेको छ । विश्वभरमा महँगी बढ्ने निश्चित भइरहँदा ट्रम्पले अमेरिकामा भने कुनै महँगी नहुने आश्वासनसमेत दिएका छन । यद्यपि अमेरिकी नेताहरुले ट्रम्पको रवैया गलत भएको बताएका छन ।