२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता तथा नेपाल-संयुक्त अधिराज्य संसद मैत्री समूहका संयोजक विराजभक्त श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज ब्रिटिश दूतावासमा सौहार्दपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको हो । भेटघाटका क्रममा नेपाल-वेलायतबीचको ऐतिहासिक सम्बन्ध, अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक तथा कूटनीतिक चासोका विषयहरू, साथै नेपाल-संयुक्त अधिराज्य (यूके) संसद मैत्री समूहको भूमिका र सम्भावनाबारे गहन कुराकानी गरिएको छ । विशेषगरी छलफलमा पर्यावरण संरक्षण, सांस्कृतिक सम्पदाको संरक्षण, सूचना प्रविधिको प्रयोग तथा आर्थिक कूटनीतिको प्रवद्र्धन जस्ता महत्त्वपूर्ण विषयहरूमा विचार-विमर्श गरिएको थियो ।
उक्त भेटमा महामहिम राजदूत रोब फेन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता तथा नेपाल–संयुक्त अधिराज्य संसद मैत्री समूहका संयोजक विराजभक्त श्रेष्ठ, रास्वपाका केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी, ब्रिटिश दूतावासका राजनीतिक प्रमुख म्याट वाल्टर्स, राजदूतका राजनीतिक सल्लाहकार सुमित शर्मा तथा माननीय श्रेष्ठका स्वकीय सचिव प्रदिप ज्ञवालीको उपस्थिति रहेको थियो । यो भेटले नेपाल-वेलायत सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी समझदारी र सहकार्यका नयाँ आयाम खोल्ने विश्वास गरिएको छ ।