|  

हसीनाले भनिन- युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन

२७ चैत, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नभएको बताएकी छन् ।

आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै उनले यस्तो भनेकी हुन् । उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति पनि जनाइन । यसअघि पनि उनले आफ्ना समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै आएकी थिइन । हाल शेख हसीना भारतमा छिन । गत वर्ष बंगलादेशमा भएको उग्र छात्र आन्दोलनपछि उनी सन २०२४ को अगस्ट महिनामा भारत आएकी थिइन् । त्यसयता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसीनालाई बंगलादेश बुझाउन भारत सरकारसँग अनुरोध गर्दै आएको छ ।

सम्बोधनमा उनले भनेकी छन्, ‘कसैले पनि यो बिर्सनु हुँदैन कि बंगबन्धु शेख मुजिबले अवामी लिगमार्फत बंगाली जनतालाई एकजुट पारेर मुलुकलाई स्वतन्त्रता दिलाउनुभएको थियो ।’ उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि पनि निशाना साध्दै भनिन, ‘मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन ।’
युनुसले विदेशी सहयोगमार्फत एक ‘पूर्वनियोजित योजना’ अनुसार सत्ता कब्जा गरेको हसिनाले आरोप लगाइन । शेख हसीनाको यो सम्बोधनबारे बंगलादेश सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।