२७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हप्ता दिनदेखि काठमाडौँमा आन्दोलित शिक्षकका माग सरकारले सुनेको नसुन्यै गरिरहेको आरोप लगाएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै नेता खनालले यस्तो आरोप लगाएका हुन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘विगत ७ दिनदेखि देशको राजधानी काठमाडौँमा देशभरका शिक्षकहरू अभिलम्ब नयाँ शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग राखी सडक आन्दोलनमा उत्रिएका छन । तर शिक्षकहरूका मागहरूलाई सरकारले सुनेको नसुन्यै गरिरहेको छ। उनीहरूका जायज आन्दोलनप्रति वेवास्ता गरिरहेको छ । ’
उनले अगाडि भनेका छन, ‘यस्तो अवस्थामा सम्पूर्ण न्यायप्रेमी नेपालीहरू र सच्चा क्रान्तिकारी, वामपन्थी र देशभक्त जनता र शक्तिहरूको तर्फबाट म शिक्षकहरूको यो जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन गर्दछु र उनीहरुको यो आन्दोलनप्रति दर्हो ऐक्यबद्धता प्रकट गर्दछु ।’
नेता खनालले उनीहरुका मागलाई अविलम्ब सम्बोधन गरेर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् ।