२७ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अब लोडसेडिङ नहुने बताएका छन् ।
सान्जेन खोला हाइड्रोपावर कम्पनीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले औद्योगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका हुन । उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभए पनि प्रचुर मात्रामा सुधार गर्ने ठाउँ रहेको बताए । हाल प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे । यसका लागि चीन-भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए । मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रसारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको भन्दै धन्यवाद पनि दिएका छन् ।