२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन् ।
आज काठमाडौंमा राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विश्वको राजनीति निकै असन्तुलन गतिमा अगाडि बढेको बताए । राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुनेको आरोप लगाउँदै उनले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने बताए । संघर्ष शान्तिपूर्ण वा हिस्रक दुवै हुनसक्ने उनले चेतावनी समेत दिए ।
इतिहासमा रामले अनेकौँ उपाय अपनाउदा पनि रावणले अत्याचार गर्न नछोडेपछि अन्तिममा हिस्रक भएर अच्याचारको अन्त्य गरेको भन्दै पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल गराउने उनको भनाइ छ । उनले नेपालीहरुको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य भएको दाबी गरे ।
नेता डा. लोहनीले नेपालको राजसंस्था नेपालीहरुलाई एकतावद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने दाबी गरे ।