|  

राजावादीहरूले वैशाख २२ मा सामुहिक गिरफ्तारी दिँदै, डा.जगमान गुरुङले गरे घाेषणा !

२७ चैत, काठमाडौं । राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरुलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताए । समय सीमाभित्र सरकारले नेताहरुलाई मुक्त नगरे तीनकुनेमा मारिएका युवाहरुको रगतले लत्पतिएको माटोको टिका लगाएर भद्र आन्दोलनमार्फत सामुहिक गिरफ्तारी दिने उनको भनाई छ । 

आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै उनले रुची हुने सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गरे । उनले सशस्त्र वा हिंस्रक आन्दोलन गर्ने आफूहरुको कुनै मनसाय नभएकाले भद्र अवज्ञा आन्दोलनमार्फत अभियान सफल हुने दाबी गरे । डा. गुरुङले तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरुले हल्ला चलाएको बताए । उनले अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने दाबी गरे ।