२८ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकिएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमाथि दफावार छलफल चलिरहेको छ । उपसमिति सदस्य सरिता भुसालका अनुसार हिजाेसम्म ३८ दफामा सहमति जुटिसकेको छ । आज ३९ दफाबाट दफावार छलफल सुरु हुनेछ । उपसमितिलाई ३५ दिनको समय दिइएको छ । आज उपसमितिको बैठक सवा १२ बजेको लागि बोलाइएको छ ।
शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन चर्काएपछि उपसमितिले दफावार छलफल तीव्र रुपमा अगाडि बढाएको हो । उपसमितिले जुटाएको सहमति भने सार्वजनिक गरिएको छैन । तर, ईसीडी दुई वर्षको बनाउने, जिल्ला शिक्षा कार्यालय नरहने, शिक्षा विभाग नरहने लगायतको सहमति जुटेको छ ।
परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धि दफामा पनि उपसमितिमा सहमति जुटेको छ । तर, के सहमति भयो खुलाइएको छैन ।
उपसमितिले परिभाषा, प्रस्तावना, निजी विद्यालयको विषयमा पछि छलफल गर्ने बताएको छ । सहमति हुन नसकेका कतिपय विषय शीर्ष राजनीतिक नेतृत्वसँग पनि छलफल गरेर टुंगो लगाउने तयारी छ ।