२८ चैत, काठमाडौं । चीनले १ सय २५ प्रतिशत कर थप्ने अमेरिकी निर्णयमा चुप लागेर नबस्ने चेतावनी दिएको छ ।
अमेरिकी करको चौतर्फी विरोध हुँदा अन्य देशमाथिको कर तत्काल लागू नगर्ने बताएका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भने १२५ प्रतिशत करवृद्धिको घोषणा गरेका थिए । ट्रम्पको घोषणापछि चिनिया अधिकारीले चुप लागेर नबस्ने बताएका हुन् । यसअघि अमेरिकाले लगाएको ३४ प्रतिशत करको बदलामा चिनिया अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबैजसो वस्तुमा पारस्परिक करमा ५० प्रतिशत थपेर ८४ प्रतिशत बनाउने घोषणा गरेको थियो । चीनको प्रतिवादपछि ट्रम्पले १२५ प्रतिशत कर लगाउने घोषणा गरे ।
यसैबीच,अन्य देशका लागि घोषित कर भने तत्काल कार्यान्वयन नगर्ने ट्रम्पको निर्णयपछि एसियाली शेयर बजारमा सुधार आएको छ । ट्रम्पले चीन बाहेकका देशमा कम्तीमा ९० दिन करवृद्धिको निर्णय लागू नगर्ने बताएका थिए ।