२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरिएकाे छ ।
राष्ट्रिय महाधिवेशन लगायतका विषयमा निर्णय लिनका लागि रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । रास्वपाले २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो । त्यसपछि सभापति रवि लामिछाने चैत २२ मा पक्राउ परे । सभापति पक्राउ परेको अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बुधबारबाट सचिवालय बैठक बसिरहेको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भने,‘बदलिँदो परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक आयोजना गर्ने भएकोले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको छ ।’ रास्वपाको सचिवालय बैठक आज पनि निरन्तर चल्ने र केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल हुने उनले बताए ।