|  

रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा

२८ चैत्र, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेश लगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् ।

‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्‍या छ,’ आदेश आएको केही बेरमै उनले लेखेकी छन् ।

त्यसयता सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी छन्।

अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको भन्दै केसीले अवहेलना मुद्दा दायर गरेका हुन् ।