|  

बुधबार रातिको चट्याङ र हावाहुरीले अछामका विद्यालय र घरहरूमा क्षति

२८ चैत्र, काठमाडौं ।  अछामका विभिन्न स्थानमा बुधबार राति करिब ८ बजेको समयमा परेको चट्याङ, हावाहुरी र वर्षाले जनजीवन प्रभावित पारेको छ ।

यस प्राकृतिक विपत्तिका कारण घरहरूमा क्षति तथा पशुचौपायामा पनि क्षति भएको छ ।साँफेबगर नगरपालिका–४ निवासी गोरख थापाको घरमा चट्याङ लागेर विद्युत् मिटर बक्स, इन्टरनेट राउटर र तारहरूमा क्षति पुगेको छ । त्यसैगरी, तुर्माखाँद गाउँपालिका–५ मा अवस्थित सरस्वती निम्न माध्यमिक विद्यालय, ढाङ्टाको ढुङ्गा–माटोले बनेको दुई कोठे भवनको टिनको छाना हावाहुरीले उडाएको छ ।

सोही वडामा रहेको श्री नवदुर्गा आधारभूत विद्यालय, जाम्पानीको दुई कोठे टिनको छानावाला भवन पनि हावाहुरीले क्षति पुर्‍याएको छ ।यस्तै चौरपाटी गाउँपालिका–५, लुङ्ग्रामा शंकर भुलको दुई तले चार कोठे ढुङ्गा–माटोले बनेको स्लेटले छाएको घरको स्लेट हावाहुरीले झारेको छ भने मेल्लेख गाउँपालिका–१, भट्टेखोला निवासी पाउने विकको आठ कोठे टिनको छानावाला घरको छाना पनि हावाहुरीले उडाएको छ ।

रामारोशन गाउँपालिका–६, भाटाकाटियास्थित किर्किट्टे भन्ने स्थानमा चट्याङले पशुमा पनि क्षति पुर्‍याएको छ । सो ठाउँमा  बसोबास गरिरहेका सर्प बहादुर साउद र लोक बहादुर साउदले पालेका भेडामध्ये लोक बहादुर साउदका ९० भेडामध्ये १२ वटा र सर्प बहादुर साउदका ८० भेडामध्ये १ वटा भेडा मरेको छ। साथै दुवैका ९ वटा भेडा अझै हराइरहेका छन् ।