२८ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा फेरि राजसंस्था फर्काउने बहस समयको बर्बादी बाहेक केही नहुने बताएका छन् ।
काठमाडौंको बूढानीलकण्ठमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले राजतन्त्रकै कारण देश पछि परेकोले फेरि पनि त्यो मूर्खतापूर्ण बहस गर्न नहुने बताएका हुन् ।
‘यो समय सम्हाल्ने समय हो, २०१७ सालमा बीपी कोइरालालाई तत्कालीन राजाले एड्भेन्चर नगरेको भए देश गरिबको सूचीमा होइन, धनी देशको क्लबमा हुन्थ्यो’, थापाले भने, ‘जननिर्वाचित प्रधानमन्त्रीलाई विनाकारण थुनेर राजतन्त्रले ३० वर्ष डुबायो । अब फेरि राजतन्त्रमा फर्किने गल्ती नेपालले गर्दैन ।’