|  

प्रधानमन्त्री दाबी- ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन’

२९ चैत, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेको घरमा आगो लगाएर र पसलबाट सामान चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न नसक्ने टिप्पणी गरेका छन् ।

नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर स्वार्थी तत्वहरुले एमालेलाई सिध्याउँछु, केपी ओली बिनाको एमाले बनाउँछु भन्नेहरु सफल हुन नसक्ने जिकिर गरे । राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गरे । देशका ठुला दलहरु नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो गठबन्धन आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै भने,‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’ प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरु ल्याएको अवगत गराए ।