|  

तीनकुने घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी छः गृहमन्त्री लेखक

२९ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनी लगायत घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज उनले उक्त प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाइँलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताए । सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषदबाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेकाको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिए ।

गृहमन्त्री लेखकले तीन कुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्या समेत गरे । उनले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकाेमा जोड दिए ।