|  

नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल

२९ चैत, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित नेपाल-चीन आर्थिक तथा व्यापार सम्मेलनको अवसरमा उनले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा चमत्कारिक प्रगति हासिल गरेको र नेपालले यसबाट लाभ लिन चाहेको बताए । उनले नेपालमा संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिहरूले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएको उल्लेख गर्दै अब विकासमा प्रगति गर्न सोहीअनुसारको सहयोगको अपेक्षा रहेको बताए । केही समयअघि मात्रै सङ्घीय संसद्का दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन सर्वसम्मत रूपमा पारित गरेको उनको भनाइ छ ।

राजनीतिक र औपचारिक रूपमा दुई देशबीच सन १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपालले एक चीनप्रतिको प्रतिबद्धतालाई व्यवहारतः लागू गर्दै आएको र अहिले पनि एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उनले बताए । दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धिहरू हासिल गरेको भन्दै अध्यक्ष दाहालले व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गरे ।