|  

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा प्रदान

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षाको प्रबन्ध गर्ने भएका छन् ।

कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘सविनको परिवारसँग छलफलपछि उनीहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ ।’

नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादिक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताए ।